Skip to main content
अर्थतन्त्रNagarik News

कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

Read the full story at Nagarik News

कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार सम्हालेको सय दिन पूरा हुँदा सरकारले केही कानुनी, पूर्वाधार तथा सेवा प्रवाहसम्बन्धी कामलाई उपलब्धिका रूपमा सार्वजनिक गरेको छ। तर विकास बजेट कार्यान्वयनको सुस्त गति र प्रदेशको समग्र विकाससँग जोडिएका ठूला तथा बहुवर्षीय आयोजनामा अपेक्षित प्रगति नदेखिँदा सरकारको सय दिनको उपलब्धि सीमित देखिएको छ। सरकारले सार्वजनिक गरेको सय दिनको प्रगति विवरणअनुसार आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म कुल बजेटको २० प्रतिशत मात्रै खर्च भएको छ।

सरकारले पाँचवटा विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको, दुईवटा सडक पुल र १७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको तथा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अघि बढाएको जनाएको छ। तर ठूला पूर्वाधार आयोजना सम्पन्न गर्ने, रुग्ण आयोजनालाई गति दिने, प्रशासनिक सुधारलाई प्रभावकारी बनाउने तथा विकास बजेट कार्यान्वयनमा भने उल्लेख्य उपलब्धि देखिएको छैन। सरकारको विवरणअनुसार असोज मसान्तसम्म चालुतर्फ १७ करोड ३२ लाख रुपैयाँ र पुँजीगततर्फ ८१ करोड ६० लाख रुपैयाँ खर्च भएको छ।

कुल खर्च २ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ अर्थात् २० प्रतिशत रहेको उल्लेख छ। पूर्वाधारतर्फ जाजरकोटको सेपुखोला र रुकुम पश्चिमको ताल्चाखोलामा दुईवटा सडक पुल निर्माण सम्पन्न भएका छन्। ग्रामीण क्षेत्रको पहुँच विस्तारका लागि १७ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ।