Skip to main content
अर्थतन्त्रNagarik News2 outlets covering

लक्ष्मीपूजामा १८१३ मेगावाट बिजुली खपत: देश झिलिमिली पारेर ५८७ मेगावाट भारत निर्यात

Read the full story at Nagarik News

लक्ष्मीपूजामा १८१३ मेगावाट बिजुली खपत: देश झिलिमिली पारेर ५८७ मेगावाट भारत निर्यात

यस वर्षको लक्ष्मीपूजाका दिन देशभर विद्युत्‌को पिक डिमान्ड एक हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः१५ बजे प्रणालीमा बिजुलीको आन्तरिक माग उच्च विन्दुमा पुगेको हो। उक्त पिक समयमा नेपालको कुल विद्युत् उत्पादन दुई हजार ४००.३० मेगावाट रहेको थियो। आन्तरिक माग धानेर बचत भएको ५८७.३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ।

यससँगै आन्तरिक खपत र निर्यातसहित प्रणालीको कुल उच्चतम भार दुई हजार ४००.३० मेगावाट पुगेको थियो। लक्ष्मीपूजाको साँझ निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट सर्वाधिक एक हजार ५३६.५० मेगावाट बिजुली उत्पादन भएको छ। यस्तै, प्राधिकरणका सहायक कम्पनीहरूबाट ४९९.२० मेगावाट, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् उत्पादन भएको थियो। यस अवधिमा भारतबाट बिजुली आयात गर्नु परेन भने तापीय आयोजनाहरूसमेत बन्द रहे।

काठमाडौं उपत्यकामा पनि विद्युत् खपत उल्लेख्य बढेको देखिएको छ। लक्ष्मीपूजाको समयमा उपत्यकाको उच्चतम माग ४८९.५० मेगावाट पुगेको थियो। पिक आवरमा विद्युत् प्रणालीको फ्रिक्वेन्सी ५०.१२० हर्ज रहेको र प्रणालीमा अवरोध पूर्णतः शून्य रहेको प्राधिकरणले बताएको छ।