Skip to main content
राजनीतिNepal Khabar

लक्ष्मीपूजामा उजेलिएको काठमाडौँ (तस्बिरहरू)

Read the full story at Nepal Khabar

लक्ष्मीपूजामा उजेलिएको काठमाडौँ (तस्बिरहरू)

तिहारको समयमा अरु बेलाभन्दा बढी नै विद्युत खपत हुन्छ। यो पर्व नै झिलिमिली बत्ति बालेर रमाइलो गरिने पर्व हो। के गाउँ के सहर सबैतिर उज्यालो बनाउने प्रचलन छ। प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा गम्भीर क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ।

आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ विद्युत् निर्यातसमेत भएको छ। आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। उक्त समयमा कुल प्रणालीको पिक भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो। प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको थियो।

नेपाल विद्युत प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो। प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन हुनु प्राधिकरणका लागि थप चुनौतीपूर्ण थियो।