Skip to main content
वातावरणNagarik News

कोप–३१ मा नेपालले जलवायु न्याय र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने

Read the full story at Nagarik News

कोप–३१ मा नेपालले जलवायु न्याय र पर्वतीय मुद्दालाई सशक्त रूपमा उठाउने

नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) मा जलवायु न्याय, पर्वतीय क्षेत्रको संरक्षण तथा जलवायुजन्य विपद्का विषयलाई सशक्त रूपमा उठाउने तयारी गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले यसपटकको सम्मेलनमा नेपालको राष्ट्रिय प्राथमिकता र जलवायु एजेन्डालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न विगतको तुलनामा राम्रो तयारी गरिएको बताए।

उनका अनुसार सम्मेलनको पहिलो साता परराष्ट्रमन्त्री शिशिर खनाल र दोस्रो साता कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नेछन्। नेपालले राष्ट्रिय स्थिति पत्रमार्फत आफ्ना एजेन्डा र प्राथमिकता निर्धारण गरिसकेको सचिव डा. मिश्रले जानकारी दिए।

लामो समयदेखि अन्तरराष्ट्रिय जलवायु मञ्चमा उठाउँदै आएको पर्वतीय मुद्दालाई यसपटक थप प्राथमिकताका साथ अघि बढाइएको उनले बताए। नेपालले भुटानसँगको सहकार्यमा पर्वतीय क्षेत्रमा तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने विषयलाई साझा एजेन्डाका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ। यसअघि राष्ट्रिय जलवायु सम्मेलनमार्फत जलवायु परिवर्तनसँग सम्बन्धित सबै सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा राष्ट्रियस्तरको छलफलसमेत सम्पन्न गरिएको उनले जानकारी दिए।