Skip to main content
राजनीतिNagarik News

किसानका दुःख उस्तै : फूल फुल्यो, माला बन्यो, तर उचित मूल्य पाउनै मुस्किल

Read the full story at Nagarik News

तिहारमा घरघरमा मखमली र सयपत्री फूलका माला झुन्डिँदा भक्तपुरका फूल उत्पादन गर्ने किसान भने आफ्नो उत्पादन बजार पुर्‍याउन र बिक्री गर्न व्यस्त छन्। महिनौँसम्म गरेको मेहनतपछि फूल टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने चटारो भए पनि उत्पादनमा कमी, लागत वृद्धि र उचित मूल्य नपाउने समस्याले किसानलाई सताएको छ। भक्तपुरको ताथलीकी कल्पना बनमालाले पुख्र्यौली पेसाका रूपमा मखमली फूलखेती गर्दै आएकी छन्।

उनले यस वर्ष एक रोपनी जग्गामा मखमली फूलखेती गरेकी छन्। तिहारमा फूलखेती गर्ने, टिप्ने, माला उन्ने र बजारसम्म पुर्‍याउने काम निकै झन्झटिलो हुने उनी बताउँछिन्। फूल बिक्रीका लागि केही व्यापारी घरमै लिन आउने गरे पनि उचित मूल्य नदिने गरेको बनमालाको गुनासो छ।

त्यसैले सम्भव भएसम्म घरमै आउने व्यापारीलाई फूल बिक्री गर्ने र बाँकी आफैँ बजारमा लगेर बेच्ने गरेको उनले बताइन्। ‘लक्ष्मीपूजाको अघिल्लो दिनदेखि भाइटीकासम्म हामी काठमाडौँका विभिन्न ठाउँमा माला लिएर जान्छौँ,’ उनले भनिन्, ‘कोटेश्वर, पशुपति, गौशाला, बानेश्वर, चाबहिल, स्वयम्भू, असन, इन्द्रचोक र कालीमाटीलगायतका स्थानमा वर्षेनी फूल बेच्न जान्छौँ।’ यस वर्ष अत्यधिक वर्षा भएका कारण फूल उत्पादनमा कमी आएको बनमालाले बताइन्। सामान्य अवस्थामा एक रोपनीमा करिब चार हजार मखमली फूलका माला उत्पादन हुने गरेकामा यस वर्ष जम्मा दुई हजार पाँच सय माला मात्रै उत्पादन भएको उनको भनाइ छ।