Skip to main content
राजनीतिRatopati

भीमफेदी सवारी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त

Read the full story at Ratopati

भीमफेदी सवारी दुर्घटनाप्रति प्रधानमन्त्री कार्यालयद्वारा दुःख व्यक्त

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।

कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनाको वास्तविक कारण पहिचान गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए। कात्तिक २६ गते बिहीबार बिहान काठमाडौँ–सर्लाही रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक सवारी साधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए।

छठ पर्व मनाउन घर जाने क्रममा ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका बासिन्दा र एक जना चालक कविलासी नगरपालिकाका हुन्। दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ।