Skip to main content
अर्थतन्त्रNepal Khabar

क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिने

Read the full story at Nepal Khabar

क्याथेले हङकङका कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिने

हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिक एयरवेजले सन् २०२६ का लागि हङकङमा कार्यरत योग्य कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस दिने भएको छ। कम्पनीले लगातार चौथो वर्ष यस्तो बोनस दिन लागेको हो। साउथ चाइना मर्निङ पोस्टले आन्तरिक स्रोतबाट प्राप्त सूचना भन्दै उल्लेख गरेअनुसार क्याथेले उक्त बोनस २०२७ को जनवरी ७ मा वितरण गर्नेछ।

पहिलो ६ महिनामा ६ अर्ब २० करोड हङकङ डलर नाफा कमाएको क्याथेले राम्रो वित्तीय नतिजा हासिल गर्न कर्मचारीको योगदान महत्त्वपूर्ण रहेको भन्दै बोनस दिने निर्णय गरिएको जनाएको छ। कम्पनीद्वारा जारी सूचनामा भनिएको छ, 'क्याथेको सफलताको केन्द्रमा तपाईँ (कर्मचारी)हरू हुनुहुन्छ। तपाईँहरूको योगदानको कदर गर्न पारिश्रमिक तथा सुविधा, स्वेच्छिक बोनस र नाफा बाँडफाँट योजनामा हामी प्रतिबद्ध छौँ।

' तर, नाफा बाँडफाँट योजनाअन्तर्गत कति रकम उपलब्ध गराइने भन्नेबारे सूचनामा खुलाइएको छैन। कम्पनीको वार्षिक वित्तीय नतिजा सार्वजनिक हुने समय अर्थात् सामान्यतया मार्च महिनामा यसबारे निर्णय हुने गर्छ। मुख्यभूमि चीन तथा अन्य क्षेत्रमा कार्यरत योग्य कर्मचारीलाई भने स्थानीय व्यवस्थापन टोलीले बोनससम्बन्धी व्यवस्था जानकारी गराउने सूचनामा उल्लेख छ।