Skip to main content
अर्थतन्त्रBizmandu

९०० मेगावाटको अरुण-३ निर्माणको निर्णायक चरणमा, भौतिक प्रगति ७५ प्रतिशत

Read the full story at Bizmandu

काठमाडौं। ऊर्जाको माग व्यवस्थापनका लागि भारतले निकै महत्त्व दिएको जलविद्युत आयोजना अरुण-३ अब निर्माणको निर्णायक चरणमा प्रवेश गरेको छ। ९०० मेगावाटको यो आयोजना संखुवासभा जिल्लामा निर्माणाधीन छ। निर्माण सुरु भएको लामो समयपछि आयोजना धमाधम काम अघि बढ्ने अवस्थामा आइपुगेको हो। आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएसँगै समग्र भौतिक प्रगति ७५ प्रतिशत पुगेको छ।

अब बाँध, पावरहाउस लगायतका बाँकी संरचना निर्माणलाई तीव्रता दिइएको छ। लगानी बोर्डका सूचना अधिकारी मनोज रेग्मीका अनुसार आयोजनाको मुख्य सुरुङमा ‘ब्रेक थ्रु’ भइसकेको छ। अहिले बाँध र विद्युतगृह निर्माणको काम अघि बढेको छ। ‘अहिलेसम्मको भौतिक प्रगति कुल ७५ प्रतिशत भएको छ,’ उनले भने, ‘आयोजनाले फेब्रुअरी २०२८ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।’ संखुवासभाको मकालु गाउँपालिका बाँध र चिचिला गाउँपालिका विद्युत्‌गृह तयार भइरहेको अरुण–३ नेपालमा हालसम्मकै सर्वाधिक क्षमताको जलविद्युत् आयोजना हो। भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले निर्माण गरिरहेको यो आयोजनामा पछिल्लो अनुमानअनुसार डेढ खर्ब रुपैयाँभन्दा बढी लगानी हुने देखिएको छ।

यो आयोजनाको निर्माण अघि बढाउन भने लामो समय लागेको थियो। सरकारले २०६३ पुस ३ गते अरुण–३ विकासका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। त्यसबाट भारतीय कम्पनी एसजेभीएन छनोट भएको थियो।