Skip to main content
राजनीतिNepal Khabar

हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छु

Read the full story at Nepal Khabar

हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छु

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन्। सन् २०२४ को विद्यार्थी आन्दोलनका कारण सत्ताच्युत भएपछि भारत भागेकी उनले गिरफ्तारी, जेल र यातनाको सम्भावना हुँदाहुँदै पनि स्वदेश फर्किने निर्णय परिवर्तन नहुने बताएकी हुन्। आन्दोलनमा भएको घातक दमनका लागि जिम्मेवार ठहर गर्दै सन् २०२५ मा विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्ड सुनाएको छ। संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त घटनामा करिब १ हजार ४०० जनाको मृत्यु भएको थियो।

हसिनाले भने आरोप अस्वीकार गर्दै फैसलाको वैधतामा प्रश्न उठाएकी छन्। स्वदेश फर्किएपछि आफू गिरफ्तार, यातना वा हत्याको जोखिममा पर्न सक्ने उनको भनाइ छ। हसिना सत्ताच्युत भएपछि मुहम्मद युनुस नेतृत्वको अन्तरिम प्रशासनले १८ महिना शासन गरेको थियो। हसिनाले सन् २०२४ को अगस्टयता आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्य मारिएको तथा हजारौँ पक्राउ, यातना र विस्थापनमा परेको आरोप लगाएकी छन्।

विदेशी शक्तिको सहयोग वा अनुमति लिएर मात्र स्वदेश फर्कनुपर्ने अवस्था नरहेको बताउँदै हसिनाले बंगलादेशमा कट्टरपन्थी समूहको प्रभाव बढेकोमा चिन्ता व्यक्त गरेकी छन्। अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरूले पनि कट्टरपन्थी समूहको बढ्दो प्रभाव र अल्पसंख्यकविरुद्ध धम्कीप्रति चिन्ता जनाइरहेका छन्।