Skip to main content
अर्थतन्त्रRatopati

मिथिलाञ्चलमा छठको रौनक, बजारमा पूजासामग्री किनमेल गर्नेको भीड

Read the full story at Ratopati

मिथिलाञ्चलमा छठको रौनक, बजारमा पूजासामग्री किनमेल गर्नेको भीड

जनकपुरधाम । दीपावलीको रौनक सेलाउन नपाउँदै मिथिलाञ्चलमा आस्था र निष्ठाको महापर्व छठ आजबाट सुरु भएको छ । छठको पहिलो दिन आज ‘नहाय–खाय’ विधि गरिएसँगै मिथिलाका गाउँबस्ती, सहर र बजारमा पर्वको चहलपहल बढेको छ । घरआँगनको सरसफाइदेखि छठघाट निर्माण, पूजासामग्रीको किनमेल र प्रसाद तयारीसम्मका कामले स्थानीयवासीलाई व्यस्त बनाएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सूर्यदेव र षष्ठीमाताको उपासना गरिन्छ ।

परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको दीर्घायुको कामना गर्दै श्रद्धालुहरू छठको व्रत बस्ने परम्परा छ । छठको पहिलो दिन व्रतालुहरूले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन् । दोस्रो दिन दिनभर उपवास बसेर साँझ खरना विधि गरिन्छ । खरनापछि व्रतालुले ३६ घण्टे निर्जला व्रत सुरु गर्छन् । तेस्रो दिन साँझ नदी, पोखरी तथा जलाशयमा बनाइएका छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।

छठ सुरु भएसँगै जनकपुरधामसहित मिथिलाञ्चलका बजारमा पूजासामग्री किन्नेहरूको भीड बढेको छ । विशेषगरी छठमा अत्यधिक प्रयोग हुने केराको माग बढेपछि व्यापारीहरू ठाउँठाउँमा अस्थायी टहरा र स्टल बनाएर व्यापारमा जुटेका छन् । जनकपुरको जानकी चोकमा अस्थायी टहरा बनाएर केरा बिक्री गरिरहेका स्थानीय रामसुन्दर साह यसपटक राम्रो व्यापार हुने अपेक्षामा छन् ।