Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

हिमपातले सडक अवरुद्ध हुँदा लिमीमा खाद्यान्न ढुवानीमा समस्या, न्यालुलेकको हिउँ पन्छाउन थालियो

Read the full story at Onlinekhabar (Nepali)

हिमपातले सडक अवरुद्ध हुँदा लिमीमा खाद्यान्न ढुवानीमा समस्या, न्यालुलेकको हिउँ पन्छाउन थालियो

२३ कात्तिक, सुर्खेत । हिमपातका कारण सडक सम्पर्क विच्छेद भएर आन्तरिक नाकाबन्दीको अवस्था सिर्जना भएको हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ (लिमी) मा सडक खुलाउन न्यालुलेकको हिउँ पन्छाउन थालिएको छ। गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछि भएको हिमपातका कारण लिमी–लाप्चा सडकखण्डअन्तर्गत करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेक हिउँले ढाकिएको छ।

सडक अवरुद्ध भएपछि लिमीका बासिन्दालाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ। नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालय सिमकोटको संयुक्त आयोजनामा मंसिर १९ गतेदेखि हिउँ पन्छाउने काम सुरु गरिएको हो। सडक खुलाएर लिमीवासीको आवतजावत सहज बनाउनुका साथै अत्यावश्यक सामग्री ढुवानीको व्यवस्था मिलाउने उद्देश्यले हिउँ हटाउन थालिएको गाउँपालिकाले जनाएको छ।

हिउँ पन्छाउने कामको अवस्था र प्रगति बुझ्न नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा तथा पूर्वाधार विकास कार्यालयका कर्मचारी न्यालुलेक पुगेका थिए। उनीहरूले अत्यन्तै कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच भइरहेको कामको स्थलगत निरीक्षण गरेका छन्। हिमपातका कारण न्यालुलेकमा सडक अवरुद्ध भएपछि नाम्खा–५ र ६ का बासिन्दा बाह्य क्षेत्रसँगको सडक सम्पर्कबाट विच्छेद भएका छन्।