Skip to main content
राजनीतिRatopati

यूएईमा २३ सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु, ३० घाइते

Read the full story at Ratopati

यूएईमा २३ सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु, ३० घाइते

फुजैराह । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराह इमिरेटमा १८ वटा कार र पाँचवटा ट्रक आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। मन्त्रालयका अनुसार दुर्घटना बुधबार मध्यरात हुनुभन्दा केही समयअघि फुजैराहको प्रवेशद्वारमा भएको थियो। एक ट्रक चालकले सवारीसाधनको नियन्त्रण गुमाएपछि अर्को ट्रकसँग ठोक्किएको थियो।

त्यसपछि दुवै ट्रक सडकबाट अनियन्त्रित भई सुस्त गतिको ट्राफिकका कारण रोकिएका अन्य सवारीसाधनहरूमा गएर जोतिएका थिए। ठक्करलगत्तै ट्रकमा आगलागी भएको र आगोको लप्काले अन्य थुप्रै सवारीसाधनलाई चपेटामा लिएको मन्त्रालयले जनाएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मन्त्रालयले आपत्कालीन र विशेष टोलीहरूले दुर्घटनापछिको उद्धार तथा व्यवस्थापन कार्य जारी राखेको उल्लेख गरेको छ। घाइतेमध्ये १५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार मृत्यु पुष्टि भएका १४ जनामा यूएईका नागरिकका साथै केही विदेशी नागरिकसमेत रहेका छन्। मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण भइरहेको प्रहरीले जनाएको छ। मन्त्रालयले घाइते हुनेहरूमा यूएई, ओमान, भारत, ब्राजिल, पाकिस्तान, जोर्डन र इजिप्टका नागरिकहरू रहेको जानकारी दिएको छ।