Skip to main content
राजनीतिNagarik News

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

Read the full story at Nagarik News

हसिनालाई स्वदेश फर्काउन माग गर्दै समर्थक सडकमा, बंगलादेशभर हिंसा भड्कियो

बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन माग गर्दै उनका समर्थकहरू सडकमा उत्रिएपछि देशभर तनाव र हिंसा भड्किएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको बीबीसीले जनाएको छ। गोपालगन्ज जिल्लामा हसिनाको प्रतिबन्धित राजनीतिक दल अवामी लिगको भ्रातृ संगठन बंगलादेश छात्र लिगका कार्यकर्ता र सुरक्षाकर्मीबीच झडप भएको छ। झडपका क्रममा प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा आगजनी गरेका छन्।

सन् २०२४ अगस्टमा व्यापक जनविद्रोहका कारण हसिना सत्ताच्युत भएर भारत पलायन भएयता उनका समर्थकले गरेको यो पहिलो ठूलो र संगठित शक्ति प्रदर्शन मानिएको छ। भारतमा निर्वासनमा रहेकी हसिनाले बंगलादेश फर्कने तयारीस्वरूप नयाँदिल्लीस्थित बंगलादेशी उच्चायोगसमक्ष राहदानी माग गरेको खबर सार्वजनिक भएपछि प्रदर्शन चर्किएको हो। उनले आगामी डिसेम्बरमा स्वदेश फर्कने इच्छा व्यक्त गर्दै राहदानीका लागि निवेदन दिएको बताइएको छ। बंगलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले भारतबाट हुने कुनै पनि षड्यन्त्रमार्फत देशको शान्ति र सुरक्षा खल्बल्याउने प्रयास सफल हुन नदिने चेतावनी दिएका छन्।

यता, विदेशमा निर्वासनमा रहेका छात्र लिगका एक वरिष्ठ नेताले हिंसात्मक घटनामा आफ्नो संगठनका कार्यकर्ता संलग्न नरहेको दाबी गरेका छन्। अज्ञात समूहले हिंसात्मक गतिविधि गरेको उनको भनाइ छ।