Skip to main content
राजनीतिNagarik News2 outlets covering

नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल

Read the full story at Nagarik News

नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज (गणेश) पौडेलले युरोपेली संघ (ईयू) ले नेपाली वायुसेवामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन्। ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सद्वारा मङ्गलबार लन्डनमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले यसै महिना ब्रसेल्समा हुने बैठकमा नेपालले उक्त प्रतिबन्ध हटाउन जोडदार रूपमा माग गर्ने जानकारी दिए। प्रतिबन्ध हटेपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको बेलायतलगायत अन्य युरोपेली मुलुकमा उडान सञ्चालन गर्न सहज हुने उनको भनाइ थियो।

नेपाली उड्डयन क्षेत्र सन् २०१३ देखि ईयूको कालोसूचीमा रहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले सन् २०१८ मा नेपाललाई ‘गम्भीर सुरक्षा चासो’को सूचीबाट हटाए पनि ईयूको प्रतिबन्ध भने अझै कायम छ। मन्त्री पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाल आफ्नो क्षमताभन्दा बढी अर्थात् १२० प्रतिशत क्षमतामा सञ्चालन भइरहेकाले भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण उपयोग गर्ने सरकारको योजना रहेको स्पष्ट पारे।

लुम्बिनीमा बौद्ध धर्मावलम्बी पर्यटक भित्र्याउन श्रीलङ्का, भियतनाम, थाइल्यान्ड र जापानजस्ता बौद्ध बाहुल्य मुलुकसँग समन्वय भइरहेको उनले बताए।