Skip to main content
राजनीतिOnlinekhabar (Nepali)2 outlets covering

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन

Read the full story at Onlinekhabar (Nepali)

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन् । यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा प्रधानमन्त्री शाहले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

उनले जारी गरेको शुभकामना सन्देशमा पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको उल्लेख छ । त्यस अवसरमा यमुनाले दाजुलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गरेको सन्देशमा भनिएको छ । ‘बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिनुभएको विश्वास छ,’ शुभकामना सन्देशमा भनिएको छ ।

सोही विश्वासका आधारमा भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै पूजा गर्ने चलन रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । यस दिन दाजुभाइलाई दुबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने परम्परा रहेको उनको सन्देशमा उल्लेख छ ।