Skip to main content
समाजSetopati

चाडपर्वमा लुटपाट र चोरी नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन

Read the full story at Setopati

चाडपर्वमा लुटपाट र चोरी नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उनले चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्ने बताएका हुन्।

दिपावली, नेपाल संवत् र छठलगायतका पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले लुटपाट, चोरीलगायतका आपराधिक घटनालाई समयमै सम्बोधन गर्न प्रहरी परिचालन गर्न निर्देशन दिए। आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ थियो। चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन पनि उनले निर्देशन दिए।

ट्राफिक व्यवस्थापनलाई नागरिकको अपेक्षाअनुसार सहज बनाउन तथा प्रहरी कर्मचारीको व्यवहार, आचरण र कार्यशैलीमा सुधार गरी नागरिकमैत्री सेवा दिनुपर्ने उनले बताए। त्यस्तै, पटका लगायतका विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्न र सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्ने घटनाप्रति सचेत रहन पनि उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए।