Skip to main content
वातावरणBizmandu

विनाशकारी बाढीपछि रसुवा-नुवाकोटमा खटिएको ६ वर्षीय ‘लियो’ सर्वोत्कृष्ट केनाइन (तस्बिरहरु)

Read the full story at Bizmandu

काठमाडौं। भोटेकोशी बाढीमा खोज तथा उद्धारमा सबैभन्दा धेरै खटिएको ‘लियो’ यस वर्षको सर्वोत्कृष्ट घोषित भएको छ। नेपाल प्रहरीको केनाइन कार्यालय, महाराजगञ्जमा कुकुर तिहारको अवसरमा आइतबार आयोजित विशेष कार्यक्रममा लियोलाई यस वर्षको सर्वोत्कृष्ट प्रहरी केनाइन घोषित गरिएको हो।

२०७८ साल असार ९ गते जन्मिएको लेब्रोडर रिट्राइभर (भाले) जातको लियो विगत ४ वर्षदेखि प्रहरीको केनाइन कार्यालय महाराजगञ्जमा सेवारत रहेर मानव खोज तथा उद्धार कार्यमा खटिँदै आएको छ। लियोले रसुवा जिल्लाको भोटेकोशीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार र नुवाकोट जिल्लाका विभिन्न स्थानहरूबाट दुईवटा शव, एउटा कंकाल तथा मानव शरीरका स-साना अंगहरू फेला पार्न प्रहरीलाई सघाएको थियो। देशभरीका केनाइन सेवा प्रदायक कार्यालय, शाखा तथा उप-शाखाहरूमा सेवारत प्रहरी केनाइनहरूमध्येबाट उच्च योगदानको मूल्यांकन गर्दै लियोलाई कार्यक्रममा सर्वोत्कृष्ट घोषणा गरिएको हो।

सोही अवसरमा आयोजित विभिन्‍न प्रतियोगिताहरूमा ‘रनिङ’ तर्फ प्रहरी केनाइन ‘टाइगर’, ‘बाधापार’मा प्रहरी केनाइन ‘छुर्पी’ तथा ‘आज्ञापालन प्रतियोगिता’ तर्फ प्रहरी केनाइन ‘रोज’ प्रथम हुन सफल भएका छन्। कार्यक्रममा कुकुर तिहार मनाउँदै कुकुरलाई सम्मान गरिएको थियो। नेपालका सुरक्षा निकायमध्ये सहयोगी कुकुर सबैभन्दा धेरै नेपाल प्रहरीसँग छ।