Skip to main content
अर्थतन्त्रRatopati

आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न

Read the full story at Ratopati

आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक प्रतिष्ठानको लगत प्रशोधन कार्य सम्पन्न गरेको छ । कार्यालयले कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन पूरा गरेको हो । बाँकी बागमती प्रदेशका प्रतिष्ठानको तथ्याङ्क प्रशोधन कार्य भइरहेको गणना शाखाका निर्देशक डा वेदप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार प्रशोधन गरिएका करिब ११ लाख व्यावसायिक प्रतिष्ठानका विवरणमा रहेका त्रुटि, दोहोरिएका विवरण तथा अङ्कगत असङ्गति सच्याएर तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्ने काम भइरहेको छ । आर्थिक गणनामा कूल १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठान समेटिएका थिए । गत वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन गरिएको गणनामा सङ्कलित विवरणलाई सही, विश्वसनीय र उपयोगी बनाउन लगत प्रशोधनका विभिन्न चरण पूरा गरिँदै छ । प्रतिष्ठानको प्रकृतिअनुसार औद्योगिक, व्यापारिक तथा सेवामूलक क्षेत्रका रूपमा वर्गीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार कोडिङ गरिने निर्देशक ढकालले बताए ।

कागजी तथा डिजिटल फाराममा सङ्कलित विवरण केन्द्रीकृत सफ्टवेयर वा डेटाबेसमा प्रविष्ट गर्ने काम अन्तिम चरणमा पुगेको छ । हालसम्म करिब सात लाख व्यावसायिक प्रतिष्ठानको विवरण प्रविष्ट गरिएको उनले जानकारी दिए ।