Skip to main content
अर्थतन्त्रThaha Khabar

घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

Read the full story at Thaha Khabar

घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

भक्तपुरः घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ। भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट चाँगुनारायण नगरपालिका–९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर बढी रकममा फूल किन्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो। आजदेखि तिहार सुरु भएको छ भने शुक्रबार धनतेरस सुरु भएसँगै बजारमा उपभोक्ताको भीड बढेको छ।

भीड बढेसँगै तिहारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन्। आज बजारमा एउटा मखमली फूलको माला रु ८० मा व्यापारीले बिक्री गरिरहेका छन्। घरदैलोमा आएका व्यापारी एवं बिचौलिया गुण्डुका किसानबाट शुक्रबारसम्म मखिमली फूलको प्रतिमाला रु २२ देखि २५ सम्ममा खरिद गरेकोमा आजदेखि किसानको घरदैलोबाटै रु ३० देखि ३५ मा खरिद गर्न थालेका छन्।

गुण्डुका पुष्प व्यवसायी प्रमिला घतानीले आजदेखि घरदैलोमा आएका व्यापारीले किसानबाट रु ३० देखि रु ३५ मै मखमली फूलको माला लैजान थालेको बताउनुभयो। आजदेखि व्यापारीले मखमली फूलको माला बजारमा रु ८० देखि रु ९० मा बिक्री गर्न थालेका छन्। किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेका हुन्।