Skip to main content
अर्थतन्त्रNagarik News

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

Read the full story at Nagarik News

बजेट विवाद नसुल्झिँदै सुदूरपश्चिममा प्रतिपक्षीको घेराबन्दी, बैठक बस्नै सकेन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। कांग्रेसको अवरोधपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक सहमति जुट्न नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकाललाई रोकिएको हो। प्रदेशसभाको आठौं अधिवेशनको २४औं बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख भीमबहादुर भण्डारीले प्रतिपक्षी दललाई धारणा राख्न समय दिए।

बैठकमा बोल्दै कांग्रेस नेता विक्रम धामीले अर्थमन्त्रीले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेको र सत्ताको नेतृत्वकर्ता नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलले समेत बजेट पुनर्लेखन गर्ने सहमति जनाएको दाबी गरे। बजेटमै गम्भीर त्रुटि देखिएकाले वर्तमान सरकारले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग थियो। सभामुख आफैंले सात सदस्यीय समिति बनाएर बजेट पुनरावलोकन गराउने आशय व्यक्त गरिसकेकाले पनि वर्तमान सरकार सत्तामा रहिरहनुको औचित्य समाप्त भइसकेको धामीले बताए। कांग्रेस सांसदहरूको नाराबाजी र अवरोध जारी रहेपछि सभामुख भण्डारीले सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।

तर, दलहरूबीच सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर बैठक अनिश्चितकालका लागि स्थगित गरियो। आजको बैठकमा प्रदेशसभा नियमावली, २०८० को नियम १५ बमोजिम समसामयिक विषयमा दलगत धारणा राख्ने कार्यसूची तय थियो।