Skip to main content
समाजOnlinekhabar (Nepali)

लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा

Read the full story at Onlinekhabar (Nepali)

लेकसाइडमा ‘अपरेसन सभ्यता’– थप ३१ जना पक्राउ, ५८ सवारी साधन नियन्त्रणमा

२१ कात्तिक, पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा असामाजिक तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न भन्दै कास्की प्रहरीले सञ्चालन गरेको अपरेसन सभ्यता अन्तर्गत थप ३१ जना पक्राउ परेका छन् । कात्तिक २१ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा गरिएको कारबाहीमा २९ पुरुष र २ महिला पक्राउ परेका कास्की प्रहरी प्रवक्त वीरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् । पक्राउ पर्नेमा यात्रुलाई दुःख हैरानी दिने ३ जना, मोबाइल चोरी गरेर फरार भएका १ जना, झण्डीबुर्जा खेलाउने १ जना, मादक पदार्थ सेवन गरी होहल्ला गर्दै सवारी चलाउने २५ जना र अनैतिक गतिविधिमा संलग्न १ जना रहेको पासवानको भनाइ छ ।

प्रहरीले चेकजाँचका क्रममा ५८ वटा सवारीसाधनलाई पनि कारबाहीको दायरामा ल्याएको छ । तीमध्ये ३८ वटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको कसुरमा कारबाही गरिएको छ । अन्य ९ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै जरिवाना गरिएको छ भने ११ वटा सवारीसाधन वडा प्रहरी कार्यालय बैदाममा राखेर थप अनुसन्धान अघि बढाइएको छ । कास्की प्रहरीले कात्तिक १९ गते राति १ बजेदेखि लेकसाइड क्षेत्रमा अपरेसन सभ्यता सुरु गरेको थियो ।

पहिलो दिनको कारबाहीमा २१ जना नियन्त्रणमा परेका थिए । पछिल्लो कारबाहीसँगै अभियान सुरु भएयता नियन्त्रणमा लिइएका मानिसको संख्या ५२ पुगेको छ ।