Skip to main content
विश्वRatopati

माइक्रोसफ्टका सेवा विश्वभर अवरुद्ध, आउटलुक, टिम्स र कोपाइलटमा समस्या

Read the full story at Ratopati

माइक्रोसफ्टका सेवा विश्वभर अवरुद्ध, आउटलुक, टिम्स र कोपाइलटमा समस्या

काठमाडौँ । माइक्रोसफ्टका विभिन्न सेवा विश्वभर प्रभावित भएका छन् । माइक्रोसफ्ट ३६५ अन्तर्गतका आउटलुक, माइक्रोसफ्ट टिम्स र कोपाइलटसहितका सेवामा बिहीबारदेखि समस्या देखिएको हो । प्रयोगकर्ताले माइक्रोसफ्टका सेवा प्रयोग गर्न तथा कनेक्ट हुन समस्या भइरहेको गुनासो गरेपछि कम्पनीले सेवा अवरुद्ध हुनुको कारणबारे अनुसन्धान सुरु गरेको छ ।

आउटेजसम्बन्धी विवरण सार्वजनिक गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार बिहीबार दिउँसो माइक्रोसफ्टका विभिन्न सेवामा समस्या देखिएको भन्दै गुनासो बढेको थियो । आउटलुक, माइक्रोसफ्ट ३६५, टिम्स, कोपाइलट, एज्युर, वानड्राइभ र माइक्रोसफ्ट स्टोरमा समस्या देखिएको थियो । माइक्रोसफ्टले आफ्नो एडमिन सेन्टरमार्फत जारी गरेको सूचनामा एक्सचेन्ज अनलाइन, माइक्रोसफ्ट टिम्स, सेयरपोइन्ट अनलाइन, माइक्रोसफ्ट ३६५ कोपाइलट र माइक्रोसफ्ट डिफेन्डर एक्सडीआरलगायतका सेवामा प्रयोगकर्ताले पहुँच नपाउन सक्ने जनाएको छ । कम्पनीका अनुसार बिहीबार अमेरिकी पूर्वी समयअनुसार दिउँसो १ः२६ बजेदेखि समस्या सुरु भएको थियो ।

यसअघि नै अमेरिकाका विभिन्न क्षेत्रमा एक्सचेन्ज अनलाइनको इमेल सेवामा समस्या देखिएको थियो । सुरुमा विभिन्न क्षेत्रमा पूर्वाधारमा अत्यधिक भार परेका कारण सेवा प्रभावित भएको अनुमान गरिएको थियो । तर, पछि कम्पनीले केही सर्भर अप्रत्याशित रूपमा बन्द हुँदा बाँकी सर्भरमा भार बढेको निष्कर्ष निकालेको छ ।