Skip to main content
राजनीतिNagarik News

एक्लोपन

Read the full story at Nagarik News

घर सहरकै महँगो ठाउँमा थियो। अग्लो पर्खाल, स्वचालित ढोका, सुन्दर बगैंचा, चम्किलो भुइँ, महँगा चित्र र विदेशी फर्निचरले सजिएको विशाल बैठक। घरको मूल ढोकामा प्रवेश गरेपछि मानिसलाई लाग्थ्यो, यहाँ जीवनमा चाहिने कुनै कुराको अभाव छैन। घरधनी अरुण श्रेष्ठ सफल व्यवसायी थिए। सहरका प्रतिष्ठित व्यक्तिमध्ये उनको नाम अग्रपंक्तिमा आउँथ्यो। महँगा गाडी, देशविदेशमा लगानी, ठुला होटलमा हुने बैठक र प्रभावशाली मानिससँगको उठबस उनको जीवनका सामान्य पक्ष थिए।

सामाजिक कार्यक्रममा उनको उपस्थिति महत्त्वपूर्ण मानिन्थ्यो। अखबारमा उनको तस्बिर छापिन्थ्यो। मानिसहरू उनीसँग सम्बन्ध बनाउन चाहन्थे। उनकी श्रीमती मृणालिनी पनि सामाजिक वृत्तमा उत्तिकै परिचित थिइन्। परोपकारी कार्यक्रममा सहयोग गर्ने, महिला सशक्तीकरणका कार्यक्रममा सहभागी हुने र प्रतिष्ठित समारोहमा उपस्थित हुने उनको नियमित दिनचर्या थियो। उनका गहनाको चमक, पहिरनको आकर्षण र मुस्कानको चर्चा हुन्थ्यो।

छोरा विदेशमा पढ्थ्यो। छोरी पनि उच्च शिक्षाका लागि अर्को देशमा थिई। बाहिरबाट हेर्दा श्रेष्ठ परिवार सम्पन्नताको आदर्श थियो तर त्यो घरमा एउटा यस्तो अभाव थियो, जसको कुनै मूल्यसूची थिएन, जसलाई कुनै बैंक खाताले पूरा गर्न सक्दैनथ्यो र जसको समाधानका लागि संसारको सबैभन्दा महँगो वस्तु पनि पर्याप्त थिएन। त्यो अभाव थियो– एकअर्काको साथ।