Skip to main content
राजनीतिThaha Khabar

फूलैफूलको मौसम तिमीलाई...

Read the full story at Thaha Khabar

फूलैफूलको मौसम तिमीलाई...

गण्डकीः फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ। यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ। प्रदर्शनीकक्षमा पुग्नेहरु फूल हेरेर मग्न देखिन्छन्। कोही फूलअघि ‘सेल्फी’ लिइरहेका छन्। कोही आफूलाई मनपर्ने फूललाई तस्बिर र श्रव्यदृश्यमा कैद गरिरहेका छन्।

तारादेवीद्वारा स्वरबद्ध गीत ‘फूलैफूलको मौसम तिमीलाई...’ को झझल्को दिलाउनेगरी रङ्गशाला परिसर यतिबेला फूलमय बनेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीद्वारा आयोजित ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’मा फूल अवलोकनमात्र नभएर किनमेलका लागि सर्वसाधारणको भीड बढ्दो छ। बुधबारदेखि सुरु भएको प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एकैथलोमा ल्याएको हो। सयपत्री, गोदावरीलगायत थरिथरिका फूल बिक्री तथा प्रदर्शनीमा राखिएको छ। तिहारका बेला फूलको माग र बिक्री बढी हुने भएकाले प्रदर्शनी आयोजना गरिएको हो।

पोखराका फूल उत्पादक काशीराम गुरुङले दुई दिनमै सोचेभन्दा राम्रो फूलको किनमेल भएको बताए। ‘यहाँ आउने कोही पनि रित्तो फर्केर जाँदैन, दिनैभर मानिसहरु आउनेजाने भइरहेको छ’, उनले भने, ‘फूल उत्पादक किसान, व्यापारी हामी सबै खुसी छौँ। ’ तिहारका लागि चाहिने सयपत्री र गोदावरी फूलको बिक्री बढी भइरहेको गुरुङले बताए।