Skip to main content
राजनीतिNagarik News

काठमाडौं २४ घण्टा खुलाउने तयारी

Read the full story at Nagarik News

काठमाडौं २४ घण्टा खुलाउने तयारी

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन गरिरहेको जनाएको छ । ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताए । उनले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रण गर्न घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए ।

ठमेलका समस्या समाधानका लागि जिल्ला प्रशासनमा मासिक बैठक गर्ने प्रस्ताव पनि उनले राखे। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, फोहोर, ट्राफिक जाम र मगन्तेलगायत समस्या समाधान गर्न सम्बन्धित निकायसँग सहकार्य भइरहेको बताए। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन स्थानीय र व्यवसायी तयार भए ट्राफिक प्रहरीले सहयोग गर्ने बताए।

जथाभावी पार्किङ गर्नेलाई कारबाही गरिने उनले उल्लेख गरे। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई सुरक्षित बनाउन घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए।