Skip to main content
अर्थतन्त्रNagarik News

कर्णालीका मुख्यमन्त्री शाही र मन्त्री सिता बादीबिच भेटवार्ता

Read the full story at Nagarik News

कर्णालीका मुख्यमन्त्री शाही र मन्त्री सिता बादीबिच भेटवार्ता

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीबिच शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। भेटमा प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लको समेत उपस्थिति रहेको थियो।

भेटवार्ताका क्रममा मन्त्री बादीले लैङ्गिक हिंसा, बालविवाह, बालमृत्युदर, कुपोषण, पुड्कोपना, अपाङ्गता भएका व्यक्तिका सवाल तथा महिला उद्यमशीलताको प्रवर्द्धनलगायतका विषयलाई प्राथमिकतामा राखेर तीनै तहका सरकारले समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा जोड दिइन्। उनले महिला, बालबालिका तथा सीमान्तकृत समुदायका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच साझा जिम्मेवारी र प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै लक्षित समुदायको आवश्यकता सम्बोधन हुने गरी नीति, कार्यक्रम तथा बजेट केन्द्रित गर्नुपर्ने बताइन्।

भेटमा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा विद्यमान बालमृत्युदर, कुपोषण, पुड्कोपना र बालविवाहजस्ता समस्या न्यूनीकरणका लागि संघीय सरकारले विशेष कार्यक्रम तथा थप बजेटको व्यवस्था गर्नुपर्ने बताए। उनले किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै प्रदेशका सामाजिक तथा स्वास्थ्य सूचक सुधारका लागि संघीय सरकारको विशेष पहल आवश्यक रहेको औँल्याए।