Skip to main content
राजनीतिNagarik News

भोलि पुज्ने जनावरलाई आज किन सास्ती ?

Read the full story at Nagarik News

भोलि पुज्ने जनावरलाई आज किन सास्ती ?

भोलि काग तिहार र पर्सि कुकुर तिहार मनाउँदै काग र कुकुरलाई पूजा गर्ने तयारी भइरहेका बेला आज भने पटका पड्काएर तिनै निरीह प्राणीलाई त्रसित बनाइँदैछ। चर्को आवाजको पटका र आतिसबाजीले मानिसलाई मात्र होइन, पशुपन्छीलाई समेत असह्य पीडा र त्रास दिइरहेको भन्दै यसको विरोध हुन थालेको छ। एउटा पटका पड्काउँदा कसैलाई क्षणिक रमाइलो लाग्ला, तर त्यसको चर्को आवाजले निद्राको औषधि खाएर आराम गर्न खोजिरहेका बिरामी, बल्लतल्ल शिशुलाई सुताएकी सुत्केरी, दिनभरको श्रमपछि विश्राम गर्न खोजिरहेका मजदुर र अन्य धेरैलाई सास्ती पुग्ने गरेको छ। त्यसभन्दा बढी पीडामा पर्छन्, कतै लुक्ने वा जाने ठाउँ नभएका निरीह पशुपन्छी।

मानिसको तुलनामा निकै संवेदनशील श्रवणशक्ति भएका कुकुरका लागि पटका र आतिसबाजीको चर्को आवाज असह्य बन्ने गर्छ। आवाज सुन्नासाथ कुकुरहरू त्रसित भएर भाग्ने र लुक्ने प्रयास गर्छन्। कतिपय जंगलतिर पुग्छन् भने कतिपय घरको गेटबाट उम्किएर टाढासम्म भाग्ने गरेका छन्। यही कारण तिहारका बेला धेरै कुकुर हराउने गरेको जनाइएको छ।

गुँडमा बसिसकेका काग, परेवा र अन्य चराचुरुङ्गीसमेत यस्तो आवाजबाट त्रसित हुन्छन्। विडम्बना के छ भने, भोलि कागलाई पूजा गर्ने र पर्सि कुकुरलाई सम्मानपूर्वक पूजा गर्ने समाजले आज भने पटका पड्काएर तिनै प्राणीलाई आतंकित बनाइरहेको छ। तिहार दसैँमा जस्तो पशुप्राणीलाई लखेट्ने, लुछाचुँडी गर्ने वा मार्ने चाड होइन।