Skip to main content
राजनीतिNagarik News

बाँके-दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु, ३ वर्षभित्र ५८ किमी सडकसहित १६ वटा पुल बन्ने

Read the full story at Nagarik News

बाँके-दाङ जोड्ने हुलाकी सडक निर्माण सुरु, ३ वर्षभित्र ५८ किमी सडकसहित १६ वटा पुल बन्ने

बाँके र दाङको सीमावर्ती क्षेत्रमा लामो समयदेखि अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया अन्ततः अघि बढेको छ। हुलाकी सडक निर्देशनालयले उक्त खण्डमा सडक तथा पुल निर्माणका लागि कुल ५ अर्ब ६० करोड रुपैयाँ बराबरको बोलपत्र आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हो। निर्देशनालयअन्तर्गतको हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका अनुसार बाँके र दाङको अधुरो क्षेत्रलाई दुई भागमा बाँडेर ठेक्का लगाइएको छ।

जसअनुसार बाँकेको राप्ती सोनारी-३ नारायणपुरदेखि दाङको सीमाक्षेत्र हाटबाससम्मको ३६ किलोमिटर सडक निर्माणको जिम्मा कन्काई खड्का जेभी कम्पनीले पाएको छ। उक्त कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) र पिएससहित २ अर्ब २ करोड रुपैयाँमा ठेक्का पाएको आयोजना प्रमुख लिलाबहादुर भण्डारीले जानकारी दिए। त्यस्तै, हाटबासदेखि दाङको राजपुर गाउँपालिकास्थित गँगदीसम्मको २२ किलोमिटर सडक निर्माण गर्न १ अर्ब ५१ करोड रुपैयाँमा हिम सगरमाथा पशुपति जेभी छनोट भएको छ।

यसैगरी यस खण्डमा पर्ने १६ वटा पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको छ। दाङ र बाँके खण्डका १२ वटा पुल १ अर्ब ३ करोड रुपैयाँमा निर्माण गर्न नारायणम निर्माण सेवाले ठेक्का पाएको छ। बाँकी दाङको राजपुरस्थित गँगदीदेखि हाटबास खण्डका ४ वटा पुल ४६ करोड ३५ लाख रुपैयाँमा निर्माण गर्ने जिम्मा भैरव कन्स्ट्रक्सन कम्पनीले पाएको कार्यालयले जनाएको छ।