Skip to main content
समाजNagarik News

दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

Read the full story at Nagarik News

दियोको उज्यालोले समाजको निराशा र अविश्वास चिर्न सकोस्: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावलीको उज्यालोले समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै एकता र सद्भाव मजबुत बनाउनुपर्ने बताएका छन्। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार तथा दीपावलीको पावन अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।

सामाजिक सञ्जालमार्फत शुभकामना जारी गर्दै सभापति थापाले उज्यालो, आत्मीयता र सद्भावको यो पर्वले सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्। ‘दियोको उज्यालोले अन्धकार हटाएझैं हाम्रो समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई अझ बलियो बनाओस्,’ सभापति थापाले भनेका छन्।

पर्वले मुलुकलाई सही दिशातर्फ डोर्‍याउने प्रेरणा दिनुपर्ने उल्लेख गर्दै उनले अगाडि लेखेका छन्, ‘यो पर्वले हामी सबैलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा दिओस्। हरेक घरमा खुसी, हरेक मनमा आशा र हाम्रो साझा भविष्यमा समुन्नतिको उज्यालो फैलियोस्।’ सभापति थापाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।