Skip to main content
खेलकुदRatopati

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

Read the full story at Ratopati

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

वासिङ्टन डिसी । अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने आक्रमणकारीसमेत मृत फेला परेका छन्। अमेरिकामा सामूहिक गोलीकाण्डका घटना असामान्य नभए पनि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको पालामा राजधानीको शान्तिसुरक्षा राष्ट्रिय बहसको विषय बनिरहेका बेला भएको यस घटनाले स्थानीय प्रहरी र सङ्घीय सुरक्षा फौजको तत्काल तथा व्यापक परिचालन निम्त्याएको थियो। प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ८ बजे कार्यालय जाने व्यस्त समयमा ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर उत्तरमा रहेको लोगन सर्कलस्थित एक जिममा बन्दुकधारी प्रवेश गरेका थिए।

विदेशी दूतावास र आधुनिक रेस्टुरेन्टहरू रहेको उक्त क्षेत्र निकै चहलपहलपूर्ण मानिन्छ। प्रत्यक्षदर्शी जेम्स स्पेलम्यानका अनुसार घटनाका बेला जिमभित्र करिब ५० जना थिए। उनले भने, ‘केही सेकेन्डमै एक व्यक्ति भुइँमा ढले र रगतको आहाल जम्यो। जिमका एक सदस्य उनलाई मद्दत गर्न दौडिए।

घाँटीमा गोली लागेका उनको तत्कालै मृत्यु भइसकेको थियो। ’ स्पेलम्यानले आफू र अन्य सदस्यहरू जिमबाट बाहिर भागेको तथा १५औँ स्ट्रिट क्षेत्रमा थप गोली चलेको आवाज सुनेको बताए। जिमभित्र करिब दुई राउन्ड र बाहिर पाँच–छ राउन्ड गोली चलेको उनको भनाइ छ।