Skip to main content
राजनीतिNagarik News

महोत्तरीका १७ होटल तथा मिठाई पसलमा अनुगमन: अखाद्य तेल र हाइड्रो जफत, छैन लेबल

Read the full story at Nagarik News

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महोत्तरीका १७ वटा होटल, रेस्टुरेन्ट तथा मिठाई पसलमा आकस्मिक निरीक्षण तथा अनुगमन गरेको छ। विभागले मोबाइल खाद्य प्रयोगशाला भ्यान परिचालन गरी जनकपुरस्थित कार्यालय र डिभिजन कार्यालय जलेश्वरको संयुक्त टोलीमार्फत जलेश्वर, रामगोपालपुर र बर्दिबास नगरपालिका क्षेत्रमा अनुगमन गरेको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा अधिकांश पसलहरूले खाद्य वस्तु खुला रूपमा बिक्री वितरण गरेको र लेबलिङ नगरेको पाइएको छ।

अनुगमन टोलीले बर्दिबास-१ स्थित ‘श्री राम स्वीट एण्ड चाट हाउस’ मा खाद्य पदार्थ तार्न प्रयोग गरिएको तेलको गुणस्तर मापन (टीपिएम) ३७.५ पुगेको भेटेपछि कैफियत देखिएको २ लिटर तेल तत्काल नष्ट गरेको छ। त्यस्तै, औरही-१ स्थित कृष्ण स्वीट्स एण्ड चाट हाउसको भान्सा कोठाबाट प्रतिबन्धित औद्योगिक कच्चा पदार्थ (हाइड्रो) बरामद गरी जफत गरिएको छ। उक्त पसललाई पटक-पटक तताएर तेल प्रयोग नगर्न र पूर्ण लेबल विवरणसहित मात्रै बिक्री गर्न निर्देशन दिइएको छ।

जलेश्वर-२ स्थित श्री शिव मिष्ठान्न भण्डारले मसीयुक्त पत्रिकामा राखेर बिक्री गरिरहेको करिब १ केजी समोसासमेत अनुगमन टोलीले जफत गरेको छ। अनुगमन गरिएका पसलहरूमध्ये अधिकांशमा पेडा, बर्फी तथा खुवाको स्टार्च टेस्ट र दूधको न्युट्रलाइजर टेस्ट गर्दा नतिजा सन्तोषजनक देखिएको छ।