Skip to main content
समाजOnlinekhabar (Nepali)

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

Read the full story at Onlinekhabar (Nepali)

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

१९ कात्तिक, पाल्पा। राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग सङ्कलनमा जुटेका छन् ।

गाडीमा चढेर पाल्पा आइपुगेका उनीहरूको मुख्य उद्देश्य तिहार मनाउन आवश्यक खर्च जुटाउनु हो । पुस्तौँदेखि अपनाउँदै आएको परम्परागत सीप र श्रमबाट तयार पारिएका काठका सामग्री बिक्री गरेर दैनिक गुजारा चलाउनुका साथै चाडपर्वका लागि खर्च जुटाउने गरेको समुदायका सदस्य बन्दवीर शाहीले बताए। “अब तिहार आइसक्यो, मिठो खानेकुरा खानुपर्छ,” शाहीले भने, “हामीसँग पैसा हुँदैन । त्यसैले आफैँले बनाएका भाँडाकुँडा बेच्ने र सहयोग माग्ने गरेका छौँ । ” उनका अनुसार विगतमा जङ्गलका रुखबाट काठका ठेकी, कोसीलगायत सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्ने गरिएको थियो ।

अहिले जङ्गलमा रुख काट्न सहज नभएपछि परम्परागत पेसाबाट आम्दानी गर्न कठिन भएको उनीहरूको गुनासो छ। “पहिले जङ्गलमा भएका रुख काटेर ठेकी, कोसी बनाएर बिक्री गर्थ्यौं र आफ्नो खर्च चलाउँथ्यौँ । अहिले रुख काट्न पाइँदैन । त्यसैले हामीसँग पैसा हुँदैन र सहयोग उठाउन हिँड्नुपर्छ,” उनले भने।