Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

Read the full story at Onlinekhabar (Nepali)

पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

२६ कात्तिक, राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्ति ताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ मा महत्वाकाङ्क्षी योजना अघि बढाएको थियो । तर, संरक्षण र उचित रेखदेखको अभाव देखिएको छ ।

स्थानीय पूर्वाधारको विकास र सौन्दर्य अभिवृद्धिका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ करिब रु १० करोड खर्चिसकेको छ । सौन्दर्य अभिवृद्धिका लागि हालिएका आकर्षक रेलिङहरू भत्किएका छन् भने पूरा ताल क्षेत्र झाडी र बुट्यानले भरिएर आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेको नेपालगञ्ज–२२ पुरैनीका अगुवा चेतबहादुर थापाले बताए। उनका अनुसार, कान्ति ताल केवल पूर्वाधार मात्रै नभई जैविक विविधताको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको प्राकृतिक बासस्थान छ ।

पर्यावरण र चरा संरक्षणको क्षेत्रमा कार्यरत अभियन्ताहरूले ताललाई पुरानै लयमा फर्काउन र यसको प्राकृतिक स्वरूप जोगाउन निरन्तर आवाज उठाइरहेका छन् । तर, पटक–पटक सरोकारवाला निकायलाई घच्घच्याउँदा पनि हालसम्म कुनै ठोस सुनुवाइ हुन सकेको छैन । झाडीले ढाकिएको यो ताल क्षेत्र रात परेपछि झनै जोखिमपूर्ण बन्ने गरेको छ । अहिले कान्ति ताल लागुऔषध दुर्व्यसनीहरूको जमघटस्थल बनेको छ ।