Skip to main content
राजनीतिRatopati

तीन सय ८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच आजदेखि प्रदर्शन हुँदै

Read the full story at Ratopati

तीन सय ८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच आजदेखि प्रदर्शन हुँदै

ललितपुर । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका रूपमा रहेको ऐतिहासिक कार्तिक नाच आजदेखि पाटनमा सुरु हुँदैछ । तीन सय ८६ वर्ष पुरानो इतिहास बोकेको उक्त नाच यस वर्ष १२ दिनसम्म प्रदर्शन गरिने भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए ।

अध्यक्ष चित्रकारका अनुसार कात्तिक २७ देखि मङ्सिर ८ गतेसम्म प्रत्येक दिन साँझ ७ः०० बजे पाटन दरबार क्षेत्रस्थित कार्तिक डबलीमा नाच प्रदर्शन हुनेछ । नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा धार्मिक–सांस्कृतिक उद्देश्यले कार्तिक नाच सुरु गराएको इतिहास छ । नेपाल भाषामा ‘कात्ति प्याखं’ भनिने यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, कृष्णलीला, धार्मिक आख्यान तथा लोकनाटक प्रस्तुत गरिने परम्परा छ ।

यस वर्ष भक्त सुरदास प्याखं, माधवानर लीला, बायः प्याखं, बाथः प्याखं, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीलालगायतका प्रस्तुति रहने समितिका उपाध्यक्ष प्रकाशराज शर्माले जानकारी दिए । यसअघि कार्तिक नाच विसं २०३८ देखि २०६० सम्म आठ दिन, विसं २०७० मा १० दिन र २०७१ देखि २०७६ सम्म १२ दिन प्रदर्शन गरिएको थियो । कोरोना महामारीका कारण विसं २०७७ मा भने दुई दिनमा सीमित गरियो ।