Skip to main content
विश्वNagarik News

११८ वर्षदेखि एउटै जन्ममिति : पाँच पुस्ताको दुर्लभ संयोगले बन्यो विश्व कीर्तिमान

Read the full story at Nagarik News

११८ वर्षदेखि एउटै जन्ममिति : पाँच पुस्ताको दुर्लभ संयोगले बन्यो विश्व कीर्तिमान

अमेरिकाको एक परिवारमा लगातार पाँच पुस्ताका सदस्य एउटै दिन जन्मिएको दुर्लभ संयोगले विश्व कीर्तिमान कायम गरेको छ। परिवारका कान्छा सदस्य आर्थर बेलको जन्मसँगै यो परिवारले गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएको हो। सन् २०२५ सेप्टेम्बर १४ मा जन्मिएका आर्थरले आफ्नी आमा एम्मा बेल (१९९७), हजुरबुबा डोनाल्ड हार्लो (१९७२), जिजुआमा एडी हार्लो (१९४९) र खनाति हजुरबुबा विल्बर हार्लो (१९०७) सँग जन्मदिन साझा गरेका छन्। यसअघि एउटै दिन जन्मिएका चार पुस्ताको विश्व कीर्तिमान सात परिवारले संयुक्त रूपमा राखेका थिए।

आर्थरको जन्मपछि भने उनको परिवार एउटै जन्ममिति साझा गर्ने पाँच पुस्ताको एकमात्र कीर्तिमानधारी बनेको छ। परिवारका अनुसार यो संयोगको सुरुवात सन् १९०७ मा विल्बर हार्लोको जन्मसँगै भएको थियो। त्यसपछि उनकी छोरी एडी, नाति डोनाल्ड र पनातिनी एम्माको जन्म पनि सेप्टेम्बर १४ मै भयो। अन्ततः एम्माका छोरा आर्थर पनि सोही दिन जन्मिएपछि पाँच पुस्ताको संयोग पूरा भएको हो।

एम्माले चार पुस्ताको संयोगबारे पहिलेदेखि नै थाहा भए पनि पाँचौँ पुस्ता पनि सोही दिन जन्मिएपछि मात्रै विश्व कीर्तिमानका लागि आवेदन दिएको बताइन्। उनका अनुसार परिवारले पाँच पुस्ताको जन्मदिन एउटै मितिमा पर्ने आशा गरेको थियो। यसको अर्को रोचक पक्ष पाँचै पुस्तामा जन्मिएका सदस्यको लिंग क्रमशः केटा, केटी, केटा, केटी र केटा रहेको छ।