Skip to main content
विश्वRatopati

पाकिस्तानी सेनाद्वारा १० दिनमा ७४ लडाकु मारिएको दाबी

Read the full story at Ratopati

पाकिस्तानी सेनाद्वारा १० दिनमा ७४ लडाकु मारिएको दाबी

काठमाडाैँ। पाकिस्तानको सेनाले अफगानिस्तानसँग सीमा जोडिएका उत्तरपश्चिमी र दक्षिणपश्चिमी क्षेत्रमा पछिल्लो १० दिनमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ७४ जना लडाकु मारिएको जनाएको छ। सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार खैबर पख्तुनख्वा प्रान्तका मिर अली र ओराकजई जिल्लामा सञ्चालन गरिएका कारबाहीमा ४३ जना लडाकु मारिएका छन्। ती कारबाहीका क्रममा हतियार, गोलीगट्ठा र विस्फोटक पदार्थसमेत बरामद गरिएको सेनाले जनाएको छ।

यसैगरी, बलोचिस्तान प्रान्तमा नोभेम्बर ३ देखि सञ्चालन गरिएका विभिन्न कारबाहीमा ३१ जना लडाकु मारिएको सेनाको दाबी छ। उक्त प्रान्तमा प्रतिबन्धित बलोच लिबरेसन आर्मीको नेतृत्वमा सशस्त्र विद्रोह जारी छ। पाकिस्तानी सेनाले मारिएका लडाकुलाई अफगानिस्तान र भारतको समर्थन रहेको आरोप लगाएको छ । काबुल र नयाँदिल्लीले भने यसअघि नै यस्ता आरोप अस्वीकार गरिसकेका छन्।

राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शहबाज सरिफले सुरक्षा फौजको प्रशंसा गर्दै उग्रवादविरुद्धको अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सेनाले मारिएका लडाकुलाई ‘खवारिज’ संज्ञा दिएको छ। पाकिस्तान सरकारले अफगानिस्तानको समर्थन प्राप्त लडाकु, विशेषगरी ‘तहरिक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) सँग आबद्ध व्यक्तिलाई सम्बोधन गर्न यो शब्द प्रयोग गर्दै आएको छ । काबुलले भने टीटीपीलाई समर्थन गरेको आरोप अस्वीकार गर्दै आएको छ।