Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

Read the full story at Onlinekhabar (Nepali)

उद्योगबाट निस्कने दूषित पानीले घुर्मी खोला दुर्गन्धित, दुई नगरपालिकाका नागरिक प्रभावित

२१ कात्तिक, सिरहा । सिरहाको गोलबजार र मिर्चैया नगरपालिकाको सिमानामा रहेको शारदा डिस्टिलरी प्रालिले उद्योगबाट निस्कने प्रदूषित पानी घुर्मी खोलामा बगाउँदा स्थानीयवासी समस्यामा परेका छन् । डस्टिलरीको फोहोर पानी खोलामा मिसिँदा मिर्चैया र कल्याणपुर नगरपालिकाका करिब १५ वटा गाउँका ८ देखि १० हजार नागरिक प्रभावित भएको स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार डिस्टिलरीको प्रदूषित पानीले पिपरा, रतनपुर, मथिलेश्वर, सोनी, गधावा, सिमरटोकी, रुदलपुर, पिलुवाहा, डोकहा, कल्याणपुर, कोरुनियाही, पर्साही, चतरी, सञ्चिरैयालगायत गाउँका बासिन्दालाई प्रत्यक्ष असर पुर्‍याएको छ । स्थानीयले यही खोलाको पानी खेतीपाती, नुहाउन, लुगा तथा भाँडा धुन, पशुचौपायालाई खुवाउन र भोजभतेरमा समेत प्रयोग गर्दै आएका थिए । तर, पछिल्लो ५–६ वर्षदेखि डिस्टिलरीको प्रदूषित पानी खोलामा मिसिन थालेपछि पानी प्रयोग गर्नै नसकिने अवस्था आएको उनीहरूको भनाइ छ ।

मिर्चैया नगरपालिका–११ का ५५ वर्षीय रामऔतार यादवले आफूले बाल्यकालदेखि प्रयोग गर्दै आएको खोलाको पानी अहिले दुर्गन्धित बनेको बताए । उनका अनुसार गाउँमा खानेपानी र बोरिङको सुविधा विस्तार भएपछि खोलामा निर्भरता केही कम भए पनि खेतीपाती, पशुचौपाया र सरसफाइका लागि खोला प्रयोग हुँदै आएको थियो । अहिले प्रदूषणका कारण ती सबै काम बन्द गर्नुपरेको उनको गुनासो छ ।