Skip to main content
समाजSetopati4 outlets covering

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

Read the full story at Setopati

छठ पर्वको दोस्रो दिन आज ‘खरना’

यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन हिजो शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधिका बीच व्रत सङ्कल्प गरिसकेका छन्। पर्वको दोस्रो दिनअर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राती सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खीर खाने विधि पूरा गरिने छ। यो विधिलाई मैथिलीमा ‘खरना’ भनिन्छ।

छठलाई मिथिलामा लोकआस्थाको महापर्व भनिन्छ। श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धि पर्वका मुख्यपक्ष मानिन्छन्। यिनै निष्ठामा रहेर ‘खरना’का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाडामा सख्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खीर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन्।

पर्वको तेस्रो दिन सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। उदाउँदा सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। अर्घ्य दिइँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ।