Skip to main content
वातावरणOnlinekhabar (Nepali)

पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

Read the full story at Onlinekhabar (Nepali)

पटका पड्काएपछि दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा

दीपावलीपछि सोमबार बिहान दिल्लीको वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको छ । आइतबार राति मानिसहरूले ठूलो मात्रामा पटका पड्काएपछि सोमबार बिहान दिल्लीका विभिन्न क्षेत्रमा हुस्सु र धुवाँका कारण दृश्यता (भिजिबिलिटी) समेत निकै कम भएको थियो । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार दिल्लीको पटपडगञ्जमा वायु गुणस्तर सूचकांक ९एक्यूआई० ४१८, आईटीओमा ४०६, राजीव चोकमा ३८१ र साउथ एक्सटेन्सन आसपासको क्षेत्रमा ३६० पुगेको थियो । उत्तर प्रदेशका नोएडा, गाजियाबाद, कानपुर र वाराणसीसहित १० सहरको वायु गुणस्तर सोमबार खतरनाक अवस्थामा पुगेको थियो । बिहान ७ बजे प्रयागराज, गोरखपुर र लखनउको एक्यूआई ५०० नाघेको थियो ।

उत्तर प्रदेशमा चिसो र हुस्सुको प्रभाव पनि देखिन थालेको छ । १५ भन्दा बढी सहरमा बाक्लो हुस्सु लागेको थियो । रातिको तापक्रम १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ । मध्यप्रदेशमा पनि चिसो बढिरहेको छ । आइतबार राति भोपाल, इन्दौरसहित १४ सहरको तापक्रम १४ डिग्री सेल्सियसभन्दा कम थियो ।

राजस्थानका सहरमा आइतबार दिनको तापक्रम सामान्यभन्दा बढी थियो । बाडमेरमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । पछिल्लो १० वर्षमा यहाँ तापक्रम ३८ डिग्रीभन्दा माथि पुगेको यो दोस्रो पटक हो । दीपावलीमा गरिएको आतसबाजीका कारण मध्यप्रदेशमा पनि वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ ।