Skip to main content
राजनीतिNagarik News

मुख्यमन्त्री कार्कीले दिए नेपाल संवत् ११४७ को शुभकामना

Read the full story at Nagarik News

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल संवत् ११४७ तथा नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्। नेपाल संवत् नेपालीहरूको मौलिक संवत्, ऐतिहासिक गौरव र सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले राष्ट्रिय विभूति शंखधर साख्वाले जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् मानवता, समानता, सामाजिक न्याय र परोपकारको प्रेरणादायी ऐतिहासिक दस्तावेजसमेत भएको बताए।

उनले समाजमा विद्यमान आर्थिक तथा सामाजिक असमानता हटाउँदै सामूहिक हित, आपसी सहयोग र जनकल्याणलाई प्राथमिकता दिनुपर्ने सन्देश नेपाल संवत्ले दिएको उल्लेख गरेका छन्। विविध जातजाति, भाषा, धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानले समृद्ध कोशी प्रदेशको आफ्नै विशिष्ट ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक पहिचान रहेको बताउँदै मुख्यमन्त्री कार्कीले हिमाल, पहाड र तराईको विविधतायुक्त प्रदेशमा बसोबास गर्ने विभिन्न समुदायका मौलिक पर्व, कला, साहित्य र परम्परा साझा सम्पत्ति तथा गौरव भएको उल्लेख गरेका छन्।