Skip to main content
समाजRatopati

आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

Read the full story at Ratopati

आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गरिएको छ । आगामी मङ्सिर ३ गतेसम्म विद्यालय परिसरमा सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ’ को आज गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गरे ।

विद्यालयलाई आवासीय स्वरूपमा रूपान्तरण गर्ने, सूचना प्रविधिको प्रयोगमार्फत पठनपाठन, सिकाइ उपलब्धि र शैक्षिक गुणस्तर सुधार गर्ने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष डेगबहादुर घर्ती क्षेत्रीले जानकारी दिए । उनका अनुसार विपन्न, भौगोलिक रूपमा विकट तथा पहुँचबाहिरका स्थानका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराई अतिरिक्त कक्षा सञ्चालनमार्फत सिकाइ उपलब्धि बढाउने लक्ष्य राखिएको छ । प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर सुधार गरी अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजानुपर्ने बाध्यता कम गर्नु पनि महायज्ञको उद्देश्य रहेको उनले बताए ।

महायज्ञबाट रु तीन करोड सङ्कलन र रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले बताउनुभयो । महायज्ञ सुरु हुनुअघि नै रु ४० लाखभन्दा बढी सहयोग घोषणा भइसकेको उनले जानकारी दिए।