Skip to main content
राजनीतिThaha Khabar

सहरको चमक बढ्यो, आगलागी नियन्त्रणको तयारी खै?

Read the full story at Thaha Khabar

सहरको चमक बढ्यो, आगलागी नियन्त्रणको तयारी खै?

भद्रपुर : झापाका प्रमुख बजारको स्वरूप फेरिँदै गएको छ। व्यापारिक भवन, होटल तथा आवासीय संरचना थपिने क्रम बढेसँगै व्यापारिक गतिविधि र सहरीकरण पनि तीव्र बनेको छ तर बजारको बदलिँदो स्वरूपअनुसार विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वाधार विस्तार हुन सकेको छैन। विशेषगरी आगलागी नियन्त्रणका लागि चाहिने आधारभूत पूर्वाधारको अवस्था उस्तै छ। दमकलको व्यवस्था भए पनि तत्काल पानी भर्न सकिने खानेपानीको पाइपलाइनबाट दमकलमा पानी भर्ने प्रणाली (फायर हाइड्रेन्ट पोइन्ट) नहुँदा आगलागी नियन्त्रणमा समस्या हुने गरेको छ।

विर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै बुधबार बिहान राजेश मण्डलको दुईतले घरमा आगलागी हुँदा यसको एउटा उदाहरण देखियो। आगो नियन्त्रणका लागि जिल्लाका सातवटा दमकल परिचालन गरिए पनि पानीको व्यवस्था गर्न निकै सकस भयो। साढे पाँच घण्टापछि नियन्त्रणमा आएको उक्त आगलागीबाट करिब छ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। आगो निभाउन पुगेका दमकलले पानी भर्न नजिकै निश्चित स्रोत पाएनन्।

केही दमकल पानी भर्न बुट्टाबारी पुगे भने केही बिर्ताबजारतिर जानुपर्‍यो। पानी भर्ने मोटरमा विद्युत् अवरुद्ध भएपछि समस्या झन् थपियो। बुट्टाबारीको चिया बगानभित्र रहेको खोल्साबाट पानी ल्याउन पनि समय लाग्ने अवस्था थियो। अन्ततः नजिकै रहेको सिद्धार्थ होटलको स्विमिङ पुल दमकलका लागि पानीको स्रोत बन्यो।