Skip to main content
राजनीतिNagarik News

सद्भाव र समृद्धिको संगम छठ

Read the full story at Nagarik News

सद्भाव र समृद्धिको संगम छठ

सन्तान प्राप्ति, सन्तानको सुख - समृद्धि तथा पतिको दीर्घायुको कामना गर्दै सूर्य भगवान्को उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको छ। छठ चार दिनसम्म मनाइन्छ। व्रतालुले निराहार बसेर मन, वचन र कर्मको शुद्धता कायम गर्दै यो पर्व मनाउने गर्छन्। यो पर्वले व्यक्तिमा आत्मसंयम, धैर्य र आध्यात्मिक शक्तिको विकास गर्ने धार्मिक विश्वास छ। छठ पर्वको पहिलो दिन शुक्रबार व्रतालुले नुहाएर चोखो वस्त्र धारण गरी प्याज र लसुन प्रयोग नगरिएका शुद्ध परिकार सेवन गरे।

छठको पहिलो दिन कार्तिक शुक्लपक्ष चतुर्थीलाई ‘नहाय -खाय’ वा ‘अरबा - अरबाइन’ भनिन्छ। यस दिन व्रतालु खोला, नदी, पोखरी तथा अन्य जलाशयमा गई स्नान गरेर शुद्ध भई चोखो खाना मात्र खान्छन्। छठ पर्वको दोस्रो दिन अर्थात् कार्तिक शुक्लपक्ष पञ्चमीमा खरना गरिन्छ। खरना शनिबार परेको छ। खरनाका दिन व्रतालुहरू दिनभरि निर्जल व्रत बस्छन् र साँझपख स्नान गरी चोखो भएपछि कुलदेवता स्थापना गरिएको पूजा कोठामा नयाँ चुलो बनाएर प्रसाद तयार पार्छन्।

प्रसादका रूपमा विशेषगरी सख्खर (गुड) र साठी चामलबाट बनाइएको खीर, गहुँको पिठोको रोटी, मुला र केरा चढाउने चलन छ। आँगनलाई गाईको गोबरले लिपपोत गरी शुद्ध बनाइन्छ। साठी चामलबाट तयार पारिएको खीरलाई भूमि देवतालाई अर्पण गरेपछि व्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई अघ्र्य दिएर सोही प्रसाद ग्रहण गर्छन्। खरनापछि व्रतालुहरू पूर्ण व्रतमा बस्छन्।