Skip to main content
प्रविधिNagarik News

फ्रान्सका ७०० सुपरमार्केटको फ्रिजमा साइबर आक्रमण, इरानमाथि आरोप

Read the full story at Nagarik News

फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केट तथा अन्य खाद्य सामग्री बिक्री केन्द्रको रेफ्रिजरेसन प्रणालीमा भएको साइबर आक्रमणमा इरानको हात रहेको आरोप लगाएको छ। आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद काभेह’ नामक साइबर समूह संलग्न रहेको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकायले निष्कर्ष निकालेको हो। फ्रान्सले घटनामा संलग्न व्यक्तिहरूमाथि युरोपेली स्तरमा प्रतिबन्ध लगाउने जनाएको छ। गत अक्टोबर ११ र १२ को राति भएको आक्रमणका क्रममा सुपरमार्केटका फ्रिज तथा फ्रिजरको तापक्रम नियन्त्रण गर्ने प्रणाली ह्याक गरिएको थियो।

आक्रमणकारीले टाढैबाट प्रणाली नियन्त्रणमा लिएर फ्रिजको तापक्रम बढाएका थिए। करिब छ घण्टासम्म तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो। यसबाट फ्रान्सका करिब १० हजार सुपरमार्केटमध्ये ७०० प्रभावित भएका थिए। पसलहरूले ताजा तथा जमाइएका खाद्य सामग्री फाल्नुपरेको थियो।

कम्तीमा १५ स्थानमा आगलागीसमेत भएको फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकाय एएनएसएसआईले जनाएको छ। इन्टरमार्च सुपरमार्केट समूहले एकै दिनमा दशौं लाख युरो बराबरको नोक्सानी भएको जनाएको छ। फ्रान्सको साइबर संकट समन्वय केन्द्र (सी४) ले ‘शाहिद काभेह’ समूहलाई आक्रमणको जिम्मेवार ठहर गरेको छ। अनुसन्धानका क्रममा आक्रमणमा प्रयोग भएका उपकरण, फारसी भाषाका संकेत र इरानसँग सम्बन्धित इन्टरनेट ठेगानाहरू फेला परेका थिए।